ए.वि पेलेट फीडले गर्यो पोल्ट्री व्यवसाय र गाईभैंसीपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
By AB Pellet Feed Pvt. Ltd.
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -१२ का ओमबहादुर वाइबा तामाङ करिब १० वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गए । कतारमा उनी ७ वर्ष बसे पनि सोचेअनुुसार नभएपछि उनको विदेश बसाइ सुखद् रहेन । त्यसपछि उनी स्वदेशमै केही इलम गर्छु भनेर आफ्नै गाउँ फर्किए ।
गाउँ फर्किएका तामाङको गोठमा अहिले गाई र भैँसी गरेर ४ वटा पशु छन् । आफ्नै खेतबारीमा रमाउँदै पशुपालनमन व्यस्त तामाङले हाल दैनिक रूपमा २५ लिटर दूध बिक्री गरिरहेका छन् । त्यही दूध बिक्रीबाट उनको दैनिकी चलेको छ ।
यस्तै मेलम्ची -९, ज्यामिरेका सञ्जिव तामाङ पनि युवावस्थामै कुखुरा पालनमा व्यस्त छन् । व्यवसाय सफल हुँदै गए पनि दुवै कृषकले भोगेको साझा समस्या हो; व्यवसायका दौरान प्राविधिक ज्ञानको अभाव । प्राविधिक ज्ञानको कमिले गर्दा सोचेअनुसारको मनग्ये लाभ लिन नसकिरहेको दुवैको गुनासो छ ।
यसैबीच दूरदराजका कृषकहरूलाई प्राविधिक ज्ञान प्रदान गर्न एबी प्यालेट फिड प्रालिले बुधबार सिन्धुपाल्चोकमा पशु आहार, रोग र उपचारसम्बन्धी कृषक र विज्ञहरूबीच छलफल गरेको छ ।
यहाँस्थित बाँसबारी कृषि सहकारी संस्था र एबी प्यालेट फिड प्रालिको आयोजनामा पशुपन्छीसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा एबी प्यालेट फिड प्रालिले उत्पादन गरेको शुभम र सुपर दानाको विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै एबी प्यालेट प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताउँदै एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रशिक्षक डा. उमेश मण्डलले हाल पशुपन्छीमा देखिएकाे लम्पीस्किन रोगका कारण कृषकले धेरै क्षति बेहाेर्नुपर्दा पशुपालन क्षेत्रमा असर परेको बताए । उनले आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउ कृषकहरू नै सजग हुनुपर्ने बताएका छन् ।
उनले पशुपालन गर्दा गोठको अवस्थिति, मलमूत्रको व्यवस्थापन र पशुका विभिन्न जातका बारेमा जानकारी गराएका थिए । उनले हालसालै मात्र ठूलो समस्याका रूपमा देखा परेको लम्पी स्किन रोगलगायत विभिन्न रोग र उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष सोमराज हलानले कम्पनीहरूले सुरुमा राम्रो दाना पठाउने तर पछि बिक्री बढ्न थालेपछि दानाको गुणस्तर घटाउने गरेको गुनासे गरेका थिए । तर सहकारीसँग आबद्ध किसानलाई जुनसुकै हालतमा पनि गुणस्तरीय दाना उपलब्ध गराइने उनले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथामिकता रहेको बताएका थिए ।
कार्यक्रममा करीब ८० जनाको सक्रिय सहभागिता रहेको थियो । एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दिपेश लामिछानेले पोल्ट्री व्यवसाय गर्दा फार्मको व्यवस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए भने डा. रामचन्द्र सञ्जेलले कुखुरा पालन व्यवसायमा आवश्यक जैविक सुरक्षा र भ्याक्सिनलगायतका बारेमा जानकारी गराएका थिए ।
यस्तै कम्पनीका प्राविधिक बुद्धिमान कार्की, मार्केटिङ म्यानेजर राजेन्द्र मैनालीलगायतले आफ्ना भनाइहरू राखेका थिए ।